काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीपछि खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो संख्यामा नागरिक अझै सम्पर्कविहीन छन्। बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार ३ सय ४४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले शनिबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लामा गरी ४ हजार ८ सय ८६ जना अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन हुनेमा ६ सय ६ जना विदेशी नागरिक समेत रहेका छन्।
बाढीपछि फेला परेका शवको पहिचान तथा व्यवस्थापनको काम पनि सँगसँगै अघि बढाइएको प्रहरीले जनाएको छ। हालसम्म पहिचान सुरक्षित राखेर १ हजार ३० जनाको शव व्यवस्थापन गरिएको छ। ठूलो संख्यामा शवको पहिचान खुल्न नसकेपछि प्रहरीले डीएनए परीक्षणलाई प्राथमिकता दिएको छ।
प्रहरीका अनुसार हालसम्म १ हजार २ सय ६० जना मृतकको डीएनए नमूना संकलन गरिएको छ। त्यस्तै, आफन्तबाट पनि १ हजार १२ जनाको डीएनए नमूना संकलन गरिएको छ। मृतक र आफन्तको नमूना परीक्षण तथा मिलानबाट पहिचान खुलाउने प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी कार्यसँगै उद्धार गरिएका नागरिकको व्यवस्थापनसमेत भइरहेको छ। अहिलेसम्म विभिन्न स्थानबाट ८ हजार ९ सय ६२ जनाको उद्धार गरिएको प्रहरीको विवरणमा उल्लेख छ।
उद्धार गरिएकामध्ये ३ हजार २ सय ४० जनालाई होल्डिङ सेन्टरमा राखिएको छ। उनीहरूको सुरक्षित व्यवस्थापन, आवश्यक सहयोग तथा परिवारसँग पुनर्मिलन गराउने प्रयास भइरहेको छ।
भोटेकोशीमा आएको बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। बाढीपछि नदीको बहावसँगै बगेका मानिस तथा शव विभिन्न स्थानमा भेटिन थालेपछि प्रभावित जिल्लाबाहेक तल्लो तटीय क्षेत्रसम्म खोजी अभियान विस्तार गरिएको छ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले बाढीको मानवीय क्षतिको पूर्ण विवरण अझै यकिन भइनसकेको देखाएको छ। १ हजार ३४४ शव फेला परिसकेको अवस्थामा पनि ४ हजार ८८६ जना सम्पर्कविहीन रहनुले खोजी, पहिचान र उद्धारको चुनौती अझै ठूलो रहेको देखिन्छ।
विशेषगरी बेपत्ता हुनेमा विदेशी नागरिकसमेत ठूलो संख्यामा रहेकाले शव पहिचान र आफन्तसँग सम्पर्क स्थापित गर्ने काम थप जटिल बनेको छ। प्रहरीले खोजी तथा उद्धारसँगै मृतकको पहिचान र डीएनए संकलनलाई पनि निरन्तरता दिइरहेको जनाएको छ।












