काठमाडौं। काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा दोहोरिने डुबानको प्रमुख कारण ढल प्रणालीको क्षमतामा रहेको असन्तुलन अर्थात् ‘बोटलनेक’ भएको प्राविधिक अध्ययनले देखाएको छ।
चारैतिरबाट ठूलो परिमाणमा पानी जमल चोकमा आइपुग्ने तर त्यसलाई बाहिर निकाल्ने निकास अत्यन्तै सानो भएकाले सामान्य वर्षामै सडक जलमग्न हुने निष्कर्ष प्रतिवेदनले निकालेको हो।
प्राविधिक विश्लेषणअनुसार ज्याठातर्फबाट ६० सेन्टिमिटर, निर्वाचन आयोगतर्फबाट ९० सेन्टिमिटर, यल्लो प्यागोडा होटलतर्फबाट ४५ सेन्टिमिटर र जनप्रशासन क्याम्पसतर्फबाट २० सेन्टिमिटर व्यासका पाइपमार्फत पानी जमल क्षेत्रमा पुग्छ। यी सबैको संयुक्त प्रवाह क्षेत्रफल ०.८२६ वर्गमिटर पुग्छ, जुन करिब १२० सेन्टिमिटर व्यासको पाइप बराबरको क्षमता हो।
तर, जमलबाट बाहिर पानी निकास गर्ने ढल भने ६० सेन्टिमिटर व्यासको मात्रै रहेको छ, जसको निकास क्षमता ०.२८३ वर्गमिटर मात्र छ। भित्रिने पानीको तुलनामा निकासको क्षमता झण्डै तीन गुणा कम भएकाले सडकमा पानी जम्ने र डुबान हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
अध्ययनले अर्को गम्भीर समस्या पनि औंल्याएको छ। ढलको अन्तिम निकास बिन्दु र टुकुचा खोलाको सतहबीच उचाइको अन्तर निकै कम भएकाले ठूलो वर्षा हुँदा टुकुचाको पानी उल्टै ढलभित्र पस्ने र निकास अवरुद्ध हुने गरेको निष्कर्ष निकालिएको छ।
महानगरका अनुसार माइतीघर मण्डलामा देखिएको जस्तै ‘बोटलनेक’ समस्या जमलमा पनि दोहोरिएको हो। यही कारण सामान्य वर्षापछि पनि जमल क्षेत्र नियमित रूपमा डुबानमा पर्ने गरेको प्रतिवेदनले जनाएको छ।
जमलमा बारम्बार डुबान हुन थालेपछि काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सम्बन्धित निकायलाई संयुक्त प्राविधिक अध्ययन गरी कारण पहिचान गर्न निर्देशन दिएकी थिइन्। त्यसपछि महानगरपालिकाको विपद् व्यवस्थापन विभागको संयोजनमा विभिन्न निकायका प्राविधिकले स्थलगत अध्ययन गरेका थिए।
स्थलगत अध्ययनपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो। समितिमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिका र डिभिजन सडक कार्यालयका प्राविधिक सहभागी थिए।
तीन चरणमा समाधानको प्रस्ताव
समितिले तत्काल, मध्यकालीन र दीर्घकालीन गरी तीन तहका उपाय सिफारिस गरेको छ।
तत्कालका लागि जमलदेखि केशरमहलसम्म थप क्याचपिट निर्माण गर्ने, ढल, म्यानहोल र क्याचपिटमा थुप्रिएको बालुवा, लेदो र फोहोर नियमित सफा गर्ने तथा टुकुचा खोलाको पिँध सफा गरी बहाव सहज बनाउने सुझाव दिइएको छ।
मध्यकालीन उपाय अन्तर्गत हालको ६० सेन्टिमिटरको निकास पाइप हटाएर ठूलो क्षमताको ‘ट्रंक लाइन’ निर्माण गर्नुपर्ने, जमल चोकको पानीको चाप घटाउन डाइभर्सन प्रणाली विकास गर्नुपर्ने तथा जनप्रशासन क्याम्पस उडल्याण्ड होटल, महेन्द्र शालिक क्षेत्रको पुरानो ढल प्रणाली पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै त्रिचन्द्र बहुमुखी क्याम्पस, होटल, सपिङ मल, विद्यालय र निजी जग्गामा वर्षाको पानी पुनःभरण (रिचार्ज) प्रणाली लागू गर्न पनि सुझाव दिइएको छ।
दीर्घकालीन रूपमा भने जमल क्षेत्रमा ‘रेन वाटर हार्भेस्टिङ’ र ‘ग्राउन्ड वाटर रिचार्ज’ प्रणाली अनिवार्य गर्नुपर्ने, वर्षाको पानीका लागि छुट्टै ‘स्टोर्म वाटर ड्रेनेज’ निर्माण गरी प्रशोधनपछि रानीपोखरीजस्ता जलाशयमा पुनःभरण गर्ने व्यवस्था विकास गर्नुपर्ने प्रतिवेदनले सिफारिस गरेको छ।
प्रतिवेदनले सन् २०१८ मा तयार गरिएको काठमाडौंको कोर सिटी ढल पुनःस्थापनासम्बन्धी विस्तृत डिजाइनलाई पुनः अध्ययन गरी आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान सके मात्र जमलको डुबान समस्या स्थायी रूपमा समाधान हुने निष्कर्ष निकालेको छ।












