काठमाडौं। खाना पकाउने ग्यास (एलपी ग्यास) को असहजता बढेपछि नेपाल आयल निगमले बुधबारदेखि देशभर पूर्ण तौल (भरी सिलिण्डर)को ग्यास बिक्री थालेको छ।
नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै बजारमा साविककै १४.२ केजीको भरी सिलिण्डर बिक्री वितरणको व्यवस्था मिलाइएको आधिकारिक जानकारी दिएको छ।
विगत केही समयदेखि ग्यास आपूर्तिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय चुनौतीहरू क्रमशः हल हुँदै गएको निगमको दाबी छ। निगमका अनुसार भारतीय आयल कर्पोरेसनका विभिन्न बोटलिङ्ग प्लान्ट तथा रिफाइनरीहरूबाट हुने लोडिङ्गको अवस्थामा उल्लेख्य सुधार आएको छ।
यसका साथै, आम उपभोक्ता वर्गबाट १४.२ केजीकै भरी ग्यास सिलिण्डरको उच्च माग भइरहेको अवस्थालाई समेत मध्यनजर गर्दै निगमले आधा सिलिण्डरको सट्टा पूर्ण तौलकै सिलिण्डर बजारमा पठाउने निर्णय गरेको हो। यो निर्णय बुधबारदेखि नै मुलुकभरका सबै डिपो र विक्रेताहरूमा लागू हुने निगमले जनाएको छ।












