काठमाडौँ। चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा औसत महँगी नियन्त्रणभित्रै देखिए पनि जेठ महिनामा भने उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) मा चाप परेको छ।
नेपाल राष्ट्र बैंकको ताजा प्रतिवेदन अनुसार २०८३ जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा मात्र २.७२ प्रतिशत रहेको थियो।
यद्यपि, चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको समग्र औसत मुद्रास्फीति भने २.८९ प्रतिशत मा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४.२४ प्रतिशत रहेको थियो।
खाद्य र गैर-खाद्य समूहको अवस्था: फलफूल, घ्यू/तेल र यातायात महँगियो
समीक्षा महिना (जेठ) मा खाद्य तथा पेय पदार्थ समूह र गैर-खाद्य तथा सेवा समूह दुवैतर्फ मूल्य वृद्धि अघिल्लो वर्षको तुलनामा उच्च देखिएको छ।
खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत रहेको छ। (अघिल्लो वर्ष जेठमा यो जम्मा ०.५४ प्रतिशत थियो।
सबैभन्दा बढी बढ्नेदउ फलफूलको मूल्य १७.४० प्रतिशत छ भने घ्यू तथा तेलको १५.१० प्रतिशत, माछा तथा मासुको ५.२६ प्रतिशत र तरकारीको ४.१४ प्रतिशतले बढेको छ।
यद्यपि दाल तथा गेडागुडी उप-समूहको मूल्य सूचकांक भने ०.९३ प्रतिशतले घटेको छ। गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.३७ प्रतिशत पुगेको छ। जुन अघिल्लो वर्ष ३.९४ प्रतिशत थियो।
यसअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १६.६८ प्रतिशत, यातायातको १५.३१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.२० प्रतिशत, शिक्षाको ५.५४ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको ५.५३ प्रतिशतले बढेको छ।
शहर र तराईमा बढी महँगी, हिमाली क्षेत्र सस्तो
भौगोलिक र क्षेत्रीय आधारमा जेठ महिनामा ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा मूल्य वृद्धि बढी देखिएको छ।
शहरी क्षेत्रमा ५.३८ प्रतिशत मूल्य वृद्धि भएकाे छ भने ग्रामीण क्षेत्रमा ४.७८ प्रतिशत मूल्य वृद्धि छ।
क्षेत्रगत हेर्दा काठमाडौँ उपत्यकाको वार्षिक उपभोक्ता मुद्रास्फीति ४.९८ प्रतिशत रहँदा तराई क्षेत्रमा सबैभन्दा बढी ५.७४ प्रतिशत मूल्य वृद्धि भएको छ। यसैगरी पहाडमा ५.०७ प्रतिशत र हिमाली क्षेत्रमा सबैभन्दा कम ३.७१ प्रतिशत मुद्रास्फीति दर्ता भएको छ।
प्रदेशगतमा कोशीमा सबैभन्दा बढी ५.७५ प्रतिशत महँगी देखिएको छ भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ।












