काठमाडौं। स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई मंगलबार राति सिन्धुलीबाट नियन्त्रणमा लिएको हो।
एआइजी मनोज केसीका अनुसार पाण्डे भारततर्फ भाग्न खोजिरहेको अवस्थामा सिन्धुलीको कमलामाई नगरपालिका-६, मदन भण्डारी राजमार्गमा सवारी जाँचका क्रममा पक्राउ परेका हुन्। पाण्डे बैंकको लोन रिकभरी कमिटीका अध्यक्ष समेत हुन्।
के हो मुख्य विवाद?
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत असोज ३ गते स्मार्ट सेलको सम्पत्ति लिलामीका लागि सूचना प्रकाशित गरेको थियो। उक्त सूचनामा लिलाम सकार गर्ने पक्षले स्मार्ट सेलले बुझाउन बाँकी घर बहाल र विद्युत महसुलबापतको ४० करोड रुपैयाँ थप गरी एकमुष्ठ कबुल गर्नुपर्ने उल्लेख थियो।
बोलपत्रदाताबाट उक्त रकम उठाए पनि बैंकले हालसम्म सम्बन्धित घरधनी र विद्युत प्राधिकरणलाई रकम नबुझाई ठगी तथा आपराधिक विश्वासघात गरेको प्रहरीको दाबी छ।
सिआइबीका अनुसार स्मार्ट सेलको अनुमतिपत्र नवीकरण नभएपछि दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ अनुसार उक्त सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आउनुपर्ने थियो। तर, सरकारी हक टुटाउने उद्देश्यले गैरकानुनी रूपमा लिलामी प्रक्रिया अघि बढाइएको अनुसन्धानले देखाएको छ।
एआइजी केसीका अनुसार स्मार्ट सेलको सम्पत्ति लिलामीबाट करिब ४ अर्ब रुपैयाँ उठेको देखिन्छ। यसमा भएको हिनामिना र थप ४० करोडको दायित्व नतिरेको विषयमा अनुसन्धान केन्द्रित छ।
पाण्डे पक्राउ पर्नुअघि प्रहरीले यसै प्रकरणमा संलग्न स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई नियन्त्रणमा लिइसकेको छ।
स्मार्ट सेलले ०७० सालमा अनुमति लिए पनि नवीकरण दस्तुर नबुझाएपछि प्राधिकरणले यसको व्यवस्थापन सम्हालेको थियो। नियन्त्रणमा लिइएको सम्पत्तिलाई बेइमानीपूर्वक लिलामी गरी राज्य र सर्वसाधारणलाई हानि पुर्याएको कसुरमा अब थप कानुनी कारबाही अघि बढाइने सिआइबीले जनाएको छ।












