काठमाडौँ। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले किसानको खेतमै ‘ल्याब’ बनाउन मन्त्री चौधरीको निर्देशन दिएकी छन्।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अध्यक्षको रूपमा औपचारिक रूपमा पदभार ग्रहण गर्दै उनले किसान पेशालाई सम्मानित र मर्यादित बनाउन अनुसन्धानमुखी कार्य आवश्यक रहेको बताइन्। ‘हामीमध्ये धेरै किसानका छोराछोरी हौं, तर आज किसानको सन्तान भएकोमा गर्व गर्न सक्ने अवस्था छैन,’ उनले भनिन्, ‘यस अवस्थालाई बदल्ने जिम्मेवारी नार्कमाथि छ।’
उनले सरकारले कृषि क्षेत्रमा सुधारका लागि विभिन्न योजना अघि सारे पनि अनुसन्धानलाई प्राथमिकतामा नराखी कार्यान्वयन गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरिन्।
अबको नीति भने अनुसन्धानलाई केन्द्रमा राखेर अघि बढ्ने रहेको उनको भनाइ थियो । मन्त्री चौधरीले अनुसन्धानलाई प्रयोगशालामा सीमित नराखी किसानको खेतमै विस्तार गर्नुपर्नेमा जोड दिँदै ‘किसानको खेतलाई नै ल्याब बनाउनु पर्छ’ भन्ने धारणा राखिन्। साथै, विश्वविद्यालयहरूसँग सहकार्य गरी मानव स्रोतको उपयोग गर्नुपर्ने र अनुसन्धानमा समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याइन्।












