काठमाडौं। ३० औँ राष्ट्रिय चिया दिवसका अवसरमा आयोजित ‘टि टेस्टिङ’ (चिया स्वाद परीक्षण) प्रतियोगितामा गण्डकी प्रदेश, बागलुङस्थित गोल्डेन टि स्टेट प्रालि (ताराखोला गाउँपालिका-१, सिरुवारी)का दुईवटा उत्पादनले प्रथम स्थान हासिल गरेका छन्।
कुल चार विधामा गरिएको परीक्षणमध्ये बागलुङको यस उद्योगले दुई विधामा स्वर्ण जितेको हो। प्रथम भएका विधा ग्रिनिस अर्थोडक्स र गोल्डेन टि हुन्। अन्य विधाहरू ह्वाइट टि र ग्रिन टि थिए।
चियाको स्वाद परीक्षण गर्दा सुख्खा चियाको रूप, बासना, तातोपानीमा डुबाएपछिको रङ र बासना, एवं स्वादलाई इन्द्रियहरूको माध्यमबाट अनुभूति गर्ने गरिन्छ।
समुद्र सतहबाट २२०० देखि २४०० मिटरको उचाइमा फैलिएको बगानबाट उत्पादित भएकाले यो चिया गुणस्तरमा अब्बल सावित भएको हो।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डद्वारा आयोजित उक्त प्रतियोगितामा देशभरका ४५ चिया उद्योगबाट १२० वटा नमुना संकलन गरिएको थियो। भारतका वरिष्ठ ‘टि टेस्टर’ कौशिक भट्टाचार्य र डेभिड जोनसन सहित बोर्डका वरिष्ठ प्राविधिक नवीन कोइरालाले चियाको ‘अर्गानोलेप्टिक’ परीक्षण गरेका थिए।
बोर्डका कार्यकारी निर्देशक फणीन्द्र राज पाण्डेको अध्यक्षतामा सम्पन्न मूल समारोहमा विजेताहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा चिया क्षेत्रका विशिष्ट व्यक्तित्व, उद्योगी, किसान र पारखीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
विसं २०७२ मा स्थापित गोल्डेन टि स्टेट प्रा।लि। ले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा यसै सिजनदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।
क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले गण्डकी प्रदेशको चिया उत्कृष्ट घोषित हुँदा हामीमा थप उत्साह र जिम्मेवारी थपिएको बताए।
गोल्डेन टि स्टेटका अध्यक्ष सरोज दाहालले विविध समस्याका बाबजुद बोर्डको सहयोगमा प्रशोधन सुरु गर्दा गुणस्तर अब्बल ठहरिनु आफूहरुका लागि ठुलो हौसला रहेको बताए। ‘यसले आगामी दिनमा अझ समर्पण र निष्ठाका साथ अघि बढ्ने दृढ अठोट मिलेको छ,’ उनले भने।
क्षेत्रीय कार्यालय पोखराका प्राविधिक नगेन्द्र सुवेदीका अनुसार पहाडी क्षेत्रमा चिनियाँ जातको चिया खेती गरिन्छ, जसबाट अर्थोडक्स र ग्रिन टि प्रशोधन गर्न सकिन्छ। उचाइ बढ्दै जाँदा उत्पादन परिमाण घटे पनि गुणस्तर भने उत्कृष्ट हुन्छ।
बोर्डका अनुसार गण्डकी प्रदेशमा बागलुङसहित कास्की र लमजुङमा पनि व्यावसायिक चिया खेती विस्तार भइरहेको छ। २२०० मिटरभन्दा माथिको उचाइमा रहेका चिया बगान नेपालमा विरलै पाइन्छन्।












