काठमाडौं । नेपालमा कर्मचारीमैत्री श्रम अभ्यास विस्तार हुने क्रम बढ्दो देखिएको छ। सरकारले अब कर्मचारी तथा पदाधिकारीलाई हरेक १५ दिनमै तलब उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री स्वणिम वाग्लेले अर्धमासिक तलब दिने निर्णय गरेका हुन्। योसँगै अर्थ मन्त्रालयले महालेखा नियन्त्रककको कार्यालयलाई अर्धमासिक तलब निकासाको बन्दोवस्त गर्न निर्देशन दिएको छ। यसअघि कर्मचारी तथा पदाधिकारीले मासिक तलब बुझ्दै आएका थिए।
यसबाहेक सरकारी कार्यालयमा हाल हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू छ।
परम्परागत रूपमा महिनामा एकपटक तलब दिने र हप्तामा एक दिन मात्र बिदा दिने प्रचलन रहेको अवस्थामा नयाँ अभ्यासले श्रम बजारमा सकारात्मक संकेत दिएको सरोकारवालाहरू बताउँछन्। १५ दिनमै तलब उपलब्ध हुँदा कर्मचारीलाई नियमित नगद प्रवाह मिल्ने र दैनिक खर्च व्यवस्थापनमा सहजता हुने अपेक्षा गरिएको छ।
त्यस्तै, हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले कर्मचारीको काम–जीवन सन्तुलन सुधार हुने, मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र कामप्रति उत्साह तथा उत्पादकता बढ्ने विश्वास गरिएको छ।












