काठमाडौँ। नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेका बेला डिजेल पेट्रोलभन्दा महँगो भएको छ। हाल काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर करिब २१९ रुपैयाँ पुग्दा डिजेल २३७ रुपैयाँसम्म (क्षेत्रअनुसार)पुगेको छ।
बुधबार राति मात्र नेपाल आयल निगमले डिजेलमा मूल्य प्रतिलिटर ३० रूपैयाँ बढाएको हो। दक्षिण एसियामै उच्च मानिएको यो मूल्य भारतको तुलनामा प्रतिलिटर ६० रुपैयाँभन्दा बढी महँगो हो।
डेढ महिनायता डिजेलको मूल्य प्रतिलिटर १४२ बाट बढेर २३७ रूपैयाँ पुगेको छ भने पेट्रोल १५७ बाट बढेर २१९ रुपैयाँ कायम भएको छ।
सामान्यतया अन्तर्राष्ट्रिय अभ्यासमा डिजेल पेट्रोलभन्दा सस्तो हुने गर्छ, किनकि यसको प्रयोग ढुवानी, उद्योग, कृषि र सार्वजनिक यातायातमा धेरै हुन्छ।
तर, पछिल्लो समय नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार समायोजन गर्दा नेपालमा डिजेल महँगो बनेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि, विशेषतः पश्चिम एसिया र इरानसँग सम्बन्धित तनाव तथा निगमको घाटा व्यवस्थापन नीतिले यो अवस्था सिर्जना गरेको बताइन्छ।
डिजेलको मूल्य वृद्धि सिधै अर्थतन्त्रको मेरुदण्डमा असर पार्ने खालको छ। ट्रक, बस, ट्याङ्कर र मालबाहक सवारी साधन डिजेलमै निर्भर हुने भएकाले ढुवानी खर्च बढेको छ। यसको प्रभाव दैनिक उपभोग्य वस्तु किराना, तरकारी, निर्माण सामग्रीदेखि औषधिसम्मको मूल्यमा देखिन थालेको छ। यसले समग्र मुद्रास्फीति बढाउँदै सर्वसाधारणको जीवनयापन थप महँगो बनाएको छ।
उद्योग तथा उत्पादन क्षेत्रमा पनि यसको असर गहिरिँदै गएको छ। इँटा उद्योग, सिमेन्ट, निर्माण तथा विभिन्न कारखाना डिजेलमा आधारित हुँदा उत्पादन लागत बढेको छ। लागत वृद्धि लामो समयसम्म कायम रहँदा उद्योगको नाफा घट्ने, केही क्षेत्रमा उत्पादन कटौती हुने र रोजगारीमा समेत असर पर्ने जोखिम देखिएको छ।
कृषि क्षेत्रमा समेत डिजेल मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव परेको छ। ट्र्याक्टर, पम्पसेट, थ्रेसरजस्ता उपकरण सञ्चालन खर्च बढ्दा किसानको लागत बढेको छ। यसले खाद्यान्न उत्पादन महँगो बनाउने र बजार मूल्यमा थप दबाब सिर्जना गर्ने देखिन्छ।
सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भइसकेको छ। बस, माइक्रोबस र ट्याक्सी सञ्चालन खर्च बढेसँगै यात्रुहरू थप आर्थिक भारमा परेका छन्। दैनिक रूपमा कार्यालय, विद्यालय वा अन्य कामका लागि यात्रा गर्ने नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्।
पेट्रोलको मूल्यवृद्धिले मुख्यतः निजी सवारी प्रयोगकर्तालाई असर पारेको छ। मोटरसाइकल, कार र स्कुटर प्रयोग गर्ने नागरिकको खर्च बढे पनि यसको प्रभाव डिजेलको तुलनामा समग्र अर्थतन्त्रमा कम देखिन्छ।




![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-360x180.jpg)





![मेरो शरीरमा बीपीको विचार छ, गणेशमानको साहस छ : गगन थापा[पूर्णपाठ]](https://www.outlinekhabar.com/wp-content/uploads/2026/01/gagannn-120x86.jpg)

