काठमाडौं। बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो।
प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, ०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ। त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत तथा मालवाहक सवारीसाधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ।
यद्यपि, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ। ती सवारी साधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ।












