काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेश कडाइबाट सरकार पछि हटेको छ। पछिल्लो पटक सरकारले कानुन व्यवसायीलाई पनि सिंहदरबार प्रवेशका गेटपास अनिवार्य गरिएको थियो।
नेपाल बार एसोसियनसहितका सरोकारवालाको विरोध, सांसदहरुको लविङ र सिंहदरबारमा रहेको प्रशासकीय अदालतको सहजीकरणपछि सरकार तीन दिनमै उक्त कदमबाट पछि हटेको हो। अब कानुन व्यवसायीहरु आफ्नो परिचयपत्र देखाएर सिंहदरबार प्रवेश पाउने नेपाल बार एशोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले बताए।
सिंहदबार प्रवेश गर्दा वकीलहरुले पनि महान्यायाधिवक्ताबाट जारी परिचयपत्रका अतिरिक्त अनुमति लिनुपर्ने सरकारले निर्णय गरेपछि कानून व्यवसायीका तर्फका आपत्ति जनाइएको थियो । नेपाल बार एशोसिएसनले पनि सरकारको यो निर्णयको संस्थागतरुपमै विरोध गरेको थियो ।
त्यसअघि कानुन व्यवयासीहरू आफ्नो परिचयपत्रकै आधारमा सिंहदरबारमा निर्वाध रूपमा प्रवेश गर्न पाउँथे।
‘सुरक्षा निकायले हामीलाई फेरि परिचयपत्रकै आधारमा मिल्ने जानकारी गराएको छ,’ उनले भने।












