काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्। भेटघाटका क्रममा प्रधानमन्त्री शाहले नेपाल सरकारको वैदेशिक नीति, प्राथमिकता र सहकार्यका क्षेत्रबारे १२ बुँदे सन्देश प्रस्तुत गरेका छन्।
प्रधानमन्त्री शाहले नेपालले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक रहेको बताउँदै सबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिने नीति अवलम्बन गरिएको स्पष्ट पारे। उनले पारस्परिक लाभमा आधारित साझेदारीलाई मजबुत बनाउने प्रतिबद्धता दोहोर्याउँदै सन्तुलित र व्यावहारिक वैदेशिक नीति अपनाइने उल्लेख गरे।
प्रधानमन्त्रीले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हितलाई सरकारको प्राथमिकतामा राखिएको बताए। साथै नेपालको बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित हुने उनको भनाइ थियो।
उनले शान्तिलाई साझा प्राथमिकता मानिएको उल्लेख गर्दै लगानी र उद्यमशीलतालाई अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री शाहले राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा समेट्ने लक्ष्य रहेको पनि स्पष्ट पारे। नयाँ सरकार निरन्तरताबाट विच्छेद नभएको बताउँदै उनले राजनीतिक स्थायित्व कायम राख्ने तथा नीतिगत स्थिरता र पूर्वानुमानयोग्य वातावरण बनाइराख्ने दृढता व्यक्त गरे।
छलफलका क्रममा प्रधानमन्त्रीले विकास, व्यापार, लगानी, जलवायु परिवर्तन र जनस्तरको सम्बन्ध विस्तारका क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको पनि बताएका छन्।












