काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
हालको राजनीतिक परिस्थिति, आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन र नेपाली कांग्रेसको महाधिवेशनलाई मध्यनजर गर्दै सक्रिय राजनीतिमा फर्किने निर्णयसहित उनले पदबाट राजीनामा दिएका हुन्।
थापाले १२ चैतमा राष्ट्रपतिलाई राजीनामा बुझाएको देखिन्छ। थापाले राष्ट्रपतिको कार्यालयमा कार्यरत रहँदा प्राप्त सहयोग, मार्गदर्शन र सद्भावप्रति आभार व्यक्त गर्दै आफ्नो राजीनामा स्वीकृत गरिदिन अनुरोध गरेका छन्।
पार्टी र राष्ट्रको हितमा राजनीतिक गतिविधिको मूलधारमा रहेर योगदान गर्नुपर्ने आवश्यकता महसुस गर्दै राजनीतिक विज्ञ पदबाट राजीनामा दिएको उनको भनाइ छ।
थापाले राष्ट्रपति समक्ष पेश गरेको राजीनामापत्रमा ०७९ साल चैत १४ गतेदेखि राष्ट्रपतिको कार्यालयमा राजनीतिक विज्ञका रूपमा कार्यरत रही आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको उल्लेख गरेका छन्।
कांग्रेस नेता थापा उनी पूर्वमन्त्रीसमेत हुन्। राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए।












