काठमाडौं। आगामी बिहीबारसम्म मुद्दा दाएर नभए एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक रिहा हुने भएका छन्।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकमाथि आगामी बिहीबारभित्र अनुसन्धान टुङ्गिन नसके थुनामुक्त गर्नू भनेको हो।
न्यायाधीशहरु विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। तर, फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु भनेको हो।
फेरि म्याद थपेर हिरासतमा नराख्न पनि अदालतले भनेको छ। तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो।
‘उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ।
गत भदौ २३ को जेनजी आन्दोलनमा राज्यतर्फबाट बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए। प्रहरीले ज्यान मुद्दाको कसुरमा अनुसन्धान गरिरहेको छ।












