काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार मालपोत अधिकृतसहित ८ जनाविरुद्ध राजस्व हिनामिनासम्बन्धी मुद्दा चलाएको छ।
मालपोत कार्यालय पर्सामा आर्थिक वर्ष ०७०/७१ मा भएको ठूलो राजस्व हिनामिना प्रकरणमा अख्तियारले बुधबार तत्कालीन अधिकृतहर हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मी तथा तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। उपाध्यायको मृत्यु भइसकेकाले अंशियार चार छोरालाई प्रतिवादी बनाइएको छ।
आयोगले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार रजिष्ट्रेशन फाँट “ग” मा एकै नम्बरका दोहोरो तथा तेहेरो रजिष्ट्रेशन नम्बर प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको, तर वास्तविक राजस्व रकम सरकारी खातामा दाखिला नगरिएको भेटिएको हो।
अनुसन्धानका क्रममा कम राजस्व भएका लिखतहरू मात्र लेखा फाँटमा बुझाइएको, तर बढी रकम कायम भएका लिखतहरू दर्ता किताबमा थपेर त्यसबाट उठेको रकम बैंक दाखिला नगरी हिनामिना गरिएको खुलेको आयोगले जनाएको छ। आन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत नगरी सरकारी राजस्व लुकाइएको निष्कर्षसहित आयोगले कुल २ करोड ९३ लाख ६८ हजार ५६५ हिनामिना भएको ठहर गरेको छ।
यस प्रकरणमा तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्र विरुद्ध ३८ लाख ८० हजार ३६८ बिगो कायम गरिएको छ। यस्तै, भूप बहादुर बोगटीविरुद्ध १ करोड १० लाख ६० हजार ५२४, पदमप्रसाद अर्यालविरुद्ध २१ लाख ३८ हजार १६९ तथा सुरेन्द् प्रसाद राव कुर्मीविरुद्ध ९९ लाख १० हजार ५१५ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनअनुसार कैद र दोब्बर जरिवानाको माग गरिएको छ।
त्यसैगरी तत्कालीन नायब सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायको मृत्यु भइसकेकाले उनको हक खाने अंशियार छोराहरू राजकिशोर, गौतम, पशुपती र मुरारीप्रसाद उपाध्यायलाई बिगो असुलउपर प्रयोजनका लागि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। उनीहरूबाट २ करोड ९३ लाख ६८ हजार ५६५ दामासाही रूपमा असुलउपर गर्न माग गरिएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपाने का अनुसार सरकारी राजस्वमा हानी पुर्याउने यस्तो संगठित अनियमिततामाथि थप निगरानी बढाइनेछ।












