काठमाडौं। काठमाडौं जिल्ला अदालतले ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धन गर्न प्रहरीलाई अनुमति दिएको छ।
न्यायाधीश आनन्द श्रेष्ठको आइतबारको इजलासले भनेको छ, ‘प्रस्तुत मुद्दामा प्रतिवादीहरूको बयान गर्न, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज गर्न तथा भदौ २३ र२४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्ने लगायतको प्रयोजनका लागि प्रतिवादीहरूलाई प्रहरी हिरासतमा राख्न अनुमति माग गरेको र अनुमति माग गरेको व्यहोरा मनासिब देखिँदा प्रतिवादीहरू केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि ५ दिन म्याद थपको अनुमति प्रदान गरिदिएको छ।’
त्यस्तै, ओली अस्पतालमा रहेकाले आवश्यक उपचारको व्यवस्था गर्न समेत यो आदेश गरी दिएको छ।
प्रहरीले ओली र लेखकलाई शनिबार पक्राउ गरेको थियो। भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुबै जनामाथि मुलुकी अपराध संहिता २०७४को दफा १८१ र १८२ अनुसार अनुसन्धान र अभियोजन गर्न सिफारिस गरेको थियो।











