काठमाडौं। अमेरिकाका विभिन्न शहरमा ट्रम्प प्रशासनविरुद्ध व्यापक प्रदर्शन भएका छन्। ‘नो किंग्स’ नाम दिइएको यो र्यालीको तेस्रो चरण हो, जसमा यसअघि पनि लाखौँ मानिस सहभागी भइसकेका छन्।
आयोजकहरूका अनुसार यी प्रदर्शन राष्ट्रपति ट्रम्पका नीतिविरुद्ध केन्द्रित छन्। प्रदर्शनका मुख्य मुद्दामा ईरान युद्ध, संघीय आप्रवासन कारबाही तथा बढ्दो महँगी समावेश छन्।
आयोजकहरूले अमेरिकाका सबै ५० राज्यमा ३ हजार २०० भन्दा बढी स्थानमा प्रदर्शन आयोजना गर्ने योजना बनाएका थिए।
उनीहरूले भनेका छन्, ‘ट्रम्प हामीलाई तानाशाहजस्तो ढंगले चलाउन चाहन्छन्। तर यो अमेरिका हो, यहाँ शक्ति जनतासँग हुन्छ, कुनै नक्कली राजा वा उनका अर्बपति साथीसँग होइन।’
अमेरिका प्रमुख शहरहरूमा शनिबार दिनभर प्रदर्शन भएको थियो न्यूयोर्क, वासिङटन डीसी र लन्स एन्जेलिस लगायतका शहरमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका थिए।
वाशिङ्टन डीसीको डाउनटाउन क्षेत्रमा दिउँसोभर र्याली जारी रह्यो। प्रदर्शनकारीहरूले राजधानीका सडकहरूमा मार्च गरे।
‘नो किंग्स’ प्रदर्शनको सुरुवात गत वर्ष जुनमा ट्रम्पको जन्मदिनको अवसरमा भएको थियो। त्यतिबेला २ हजार १०० स्थानमा आयोजित विरोध कार्यक्रममा अनुमानित ४० देखि ६० लाख मानिस सहभागी भएका थिए।










