काठमाडौं। एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ओलीको रिहाइको लागि कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।
बैठकपछि एमाले महासचिव पोखरेलले भने, ‘हाम्रो पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान सूर्योदय अगावै गरिएको प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी गिरफ्तारीको निन्दा, भर्तसना र विरोध गर्दछ।’
साथै एमालेले सडक आन्दोलनको पनि घोषणा गरेको छ। ओलीलाई तत्काल रिहा गर्न माग गर्दै आम जनसमुदाय, नागरिक समाजलाई साथमा लिएर कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने निर्णय एमालेले गरेको छ।
त्यस्तै, शनिबार देशका सबै सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनका तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय भएको छ भने आइतबार दिउँसो १२ बजे प्रत्येक जिल्लामा पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउनुका साथै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने निर्णय पनि भएको छ।
एमालेले नागरिक समाज र आम जनसमुदायको सहकार्यमा आन्दोलन अघि बढाउने निर्णय पनि गरेको छ।
गत भदौमा भएको जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले शनिबार मात्र तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन प्रधानमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। एमालेले आन्दोलनको घोषणा गरेपनि कांंग्रेस मौन छ।












