काठमाडौं। कोलम्बियामा वायु सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ।
दक्षिणी क्षेत्रमा उडान भरेको केही बेरमै वायु सेनाको विमान पुटुमायो प्रान्तको पुएर्तो लेगुइजामो शहर नजिक दुर्घटनाग्रस्त भएको वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाले बताएका छन्।
विमानमा सेनाका ११४ जवान र ११ जना चालकदल सदस्य सवार थिए। यो अमेरिकामा निर्मित सि १३० हरकुलस विमान थियो, जसको प्रयोग सैनिकहरूको आवतजावतका लागि गरिन्छ।
यो घटना कोलम्बिया वायु सेनाको हालैको इतिहासकै सबैभन्दा घातक दुर्घटनामध्ये एक मानिएको छ। स्थानीय समाचार माध्यममा स्थानीयवासीहरूले घाइते सैनिकहरूलाई साना मोटरसाइकलमा राखेर अस्पताल पुर्याइरहेको दृश्य पनि देखिएको छ।












