काठमाडौं। नेकपा (एमालें)का नेता सुरेन्द्र पाण्डेले अब पुरानै लयमा फर्किने मात्र नभई अझ आधुनिक, सक्षम र शक्तिशाली राजनीतिक शक्तिका रूपमा उदाउन सक्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले पार्टीले इतिहासको उपलब्धिमात्र सम्झेर बस्ने होइन, भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।
पाण्डेले अबको एमाले केवल राजनीतिक शक्ति नभई देशका जटिल समस्या समाधान गर्न सक्ने विज्ञता र प्रविधिसहितको गतिशील संस्था बन्नुपर्ने बताएका छन्। उनका अनुसार पार्टी पुनर्जीवनका लागि तत्काल तीन प्रमुख क्षेत्रमा काम आवश्यक छ।
उनले पहिलो प्राथमिकताका रूपमा विज्ञतामा आधारित राजनीति अघि सारेका छन्। पार्टीले केवल भाषणमा सीमित नभई विषयविज्ञ, अर्थशास्त्री तथा प्राविधिक समूहसँग सहकार्य गरेर देशको आर्थिक संकट समाधान गर्ने स्पष्ट प्राविधिक रोडम्याप तयार गर्नुपर्ने उनको भनाइ छ।
दोस्रो, उनले डिजिटल मेरिटोक्रेसी लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। व्यक्तिगत पहुँचका आधारमा जिम्मेवारी बाँड्ने परम्परा अन्त्य गर्दै आधुनिक प्रविधिमा आधारित पारदर्शी मूल्यांकन प्रणाली विकास गर्नुपर्ने उनले उल्लेख गरेका छन्। यसबाट कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन सम्भव हुने उनको विश्वास छ।
तेस्रो, पाण्डेले संरचित पुस्तान्तरण मा जोड दिएका छन्। नयाँ पुस्तालाई नेतृत्वमा ल्याउँदै अनुभवी नेताहरूको ज्ञान उपयोग गर्न ‘को(लिडरसिप’ र ‘मेन्टरसिप’ को वैज्ञानिक मोडल सुरु गर्नुपर्ने उनले बताएका छन्।












