काठमाडौं। नारायणगढ–बुटवल सडक योजनाअन्तर्गत दाउन्ने–बर्दघाट सडकखण्डमा वर्षापछि सडक चिप्लो बनेर ठूला सवारीसाधन सञ्चालनमा समस्या देखिएपछि रातिको समयमा मालवाहक सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
सडक विभाग अन्तर्गत सञ्चालित नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड) ले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै निर्माणाधीन बुम्किवास–दाउन्ने–बर्दघाट क्षेत्रमा भारी वर्षाका कारण सडक चिप्लिएको, ठूला मालवाहक सवारी चिप्लिने र अड्किने समस्या बढेको जनाएको छ।
सूचनाअनुसार चैत ६ गतेदेखि चैत ८ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठूला मालवाहक सवारीसाधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक (टीसीएन चोक) र दुम्किवासतर्फ बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ।
छोटो तथा लामो दूरीका यात्रुवाहक सवारी र आकस्मिक सेवाका सवारीलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ।
योजना कार्यालयका अनुसार उक्त सडकखण्डमा अहिले निर्माण तथा मर्मत-सम्भारको काम भइरहेकाले अत्यावश्यकबाहेक अन्य सवारीले सकेसम्म वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग ले हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान गरेपछि सडक सुरक्षालाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।
योजना कार्यालयले यात्रुहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न र सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।












