काठमाडौं। इस्ट्रिट अफ होर्मुज क्षेत्रमा इरान र इजरायलबीच बढ्दो तनावले नेपाली नागरिकको सुरक्षामाथि प्रत्यक्ष असर पार्न थालेको छ। यही तनावका बीच एक व्यापारिक जहाज इरानी सुरक्षा फौजको नियन्त्रणमा पर्दा त्यसमा कार्यरत धनुषाका अमृत झा हिरासतमा परेका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत झा इरानी नियन्त्रणमा रहेको पुष्टि गरेको हो। पश्चिम एसिया महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार इरानी पक्षले जहाजमा रहेका सबै क्रू सदस्यलाई नियन्त्रणमा लिएको छ, जसमा नेपाली नागरिक अमृत झा पनि छन्।
झा उक्त जहाजमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए। इरानी रिभोलुसनरी गार्ड्सले इजरायलसँग सम्बन्धित भएको दाबी गर्दै जहाजलाई नियन्त्रणमा लिएको बताइएको छ। परिवारले लामो समय सम्पर्क नभएपछि परराष्ट्र मन्त्रालयमा खोजीका लागि निवेदन दिएको थियो।
परराष्ट्र मन्त्रालयले तेहीरान स्थित नेपाली दूतावासमार्फत अवस्थाबारे जानकारी संकलन गरिरहेको छ र कूटनीतिक पहलमार्फत रिहाइका लागि प्रयास अघि बढाइएको छ।
विश्व ऊर्जा आपूर्तिको संवेदनशील मार्ग मानिने होर्मुज जलडमरूमध्यमा हुने कुनै पनि सैन्य गतिविधिले केवल तेल बजारमात्र होइन, त्यहाँ कार्यरत हजारौँ विदेशी श्रमिकलाई पनि जोखिममा पार्ने गरेको छ। यही मार्ग भएर दैनिक ठूलो परिमाणमा तेल तथा व्यापारिक सामग्री ओसारपसार हुन्छ।
नेपाली युवाहरू पनि अन्तर्राष्ट्रिय मर्चन्ट नेभीका विभिन्न जहाजमा प्राविधिक, कुक, मेकानिक र सुरक्षा गार्डका रूपमा कार्यरत रहेकाले खाडी क्षेत्रमा बढ्दो अस्थिरताले उनीहरूको सुरक्षा चिन्ता फेरि सतहमा ल्याएको छ।












