काठमाडौं। नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र शीर्ष तहकै नेताबाट अनर्गल आरोप, घृणायुक्त अभिव्यक्ति र मिथ्या सूचना फैलाउने प्रवृत्ति बढेको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेका छन्।
शनिबार भक्तपुरको गुन्डुमा बसेको एमाले सचिवालय बैठकपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्र अस्वस्थ टिप्पणी र डिजिटल माध्यमबाट चरित्रहत्या गर्ने प्रयास भइरहेको बताएका हुन्।
उनले ‘सरु शर्मा’ नामको नक्कली फेसबुक आईडीमार्फत आफू लगायत केही नेताविरुद्ध योजनाबद्ध रूपमा घृणा फैलाइएको दाबी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेका बेला यस्तो गतिविधि हुनु झन् असुहाउँदो भएको उनको टिप्पणी छ।
भट्टराईले अध्यक्ष ओली अनुपस्थित रहेका कारण सचिवालय बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापा ले गरेको उल्लेख गर्दै शोकको समयमा आपसी कटाक्ष र नकारात्मक अभिव्यक्ति पार्टी संस्कृतिसँग मेल नखाने बताएका छन्।
उनका अनुसार अहिले एमालेको मुख्य चुनौती पार्टी एकता जोगाउनु, संगठनलाई रूपान्तरण गर्नु र गुमेको जनविश्वास पुनः स्थापित गर्नु हो। त्यसका लागि भावनात्मक प्रतिक्रिया होइन, स्थापित प्रक्रिया र तथ्यमा आधारित बहस आवश्यक रहेको उनले बताएका छन्।
‘मिसइन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच बन्द गरौँ, आत्मभर्त्सना होइन, जमेर आत्मसमीक्षा गरौँ,’ उनले लेखेका छन्।
उक्त सचिवालय बैठकले समानुपातिकतर्फका १६ जना सांसदको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको थियो।












