काठमाडौं। कांग्रेसले संसदीय चुनावमा हालसम्मकै खराब प्रदर्शन गरेको छ। ०६४ मा को पहिलो संविधानसभामा देशभर माओवादीको उभार आउदा पनि कांग्रेसले २४० मा ३७ सिट जितेको थियो।
तर, यसपटक रास्वपाको सुनामीका अगाडि कांग्रेसको जादु चलेन। अझ जनताले नयाँ फेस खोजेको भन्दै गगन थापाले विशेष महाधिवेशनबाट शेरबहादुर देउवालाई सभापतिबाट हटाएर आफू नेतृत्वमा आएका थिए। र, बदलिएको कांग्रेस २.० को ब्रान्डिङ गरियो।
तर, कांग्रेसले १६५ मध्ये १७ सिट मात्र जितेको छ।
डोटीमा भरतबहादुर खड्का, अछाम १ मा भरत स्वार, बाजुरामा जनकराज गिरी, सुर्खेत १ मा विष्णु खड्का, दैलेख १ मा बासना थापा, जाजरकोटमा खड्कबहादुर बुढा, हुम्लामा जयपति रोकाया, मुगुमा खड्ग शाही, कपिलवस्तुमा अभिषेशक प्रताप शाह, पाल्पामा सन्दीप राना, मुस्ताङमा योगेश गौचन थकाली, मनाङमा टेकबहादुर गुरुङ, रसुवामा मोहन आचार्य, रौतहटमा फिरदोश आलम, सोलुखुम्बुमा प्रकाशसिंह कार्की, तेह्रथुममा सन्तोष सुब्बा र पाँचथरमा नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।
०७९ को चुनावमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितेको थियो र पहिलो दल बनेको थियो। २०७४ मा २३ सिटमा खुम्चिएको थियो।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ २ सय ४० मध्ये १ सय ५ सिट जितेको थियो।












