काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गतेदेखि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को पहिलो चरण सुरु गरेको छ। यस चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर बिक्री गर्दैछ।
कम्पनीले बाग्लुङ जिल्लामा सञ्चालन भइरहेको जलविद्युत आयोजनासँग प्रत्यक्ष सम्बन्धित स्थानीय समुदायका लागि ९ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ। बडिगाड गाउँपालिका (वडा नं. १–१०) का बासिन्दा र ढोरपाटन नगरपालिका वडा नं. २ का प्रसारण लाइन प्रभावित स्थानीयहरूले आवेदन दिन पाउने व्यवस्था गरिएको छ। स्थानीय लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यदि तोकिएको आवेदन पर्याप्त भएन भने आवेदन अवधि फागुन ८ गतेसम्म लम्बिन सक्छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै कम्पनीले २ लाख २२ हजार कित्ता सेयर निष्काशन गरेको छ। यस समूहका आवेदकहरूले पनि न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन अवधि माघ ९ गतेसम्म मात्र खुला रहनेछ।
ऊर्जा उत्पादनतर्फ, कम्पनीले बाग्लुङ जिल्लामा निर्माण सम्पन्न ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजनाबाट २०८१ फागुन २५ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ। त्यस्तै, सोही खोलामा ६.०५ मेगावाट क्षमताको तल्लो भिम खोला जलविद्युत आयोजना निर्माणको चरणमा छ।
आईपीओको पहिलो चरणको बाँडफाँड सम्पन्न भएपछि कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि सेयर निष्काशनको तयारी गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ।
नेपाल धितोपत्र बोर्डले पुस १६ गते शिखर पावरलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। स्वीकृतिअनुसार कम्पनीले कुल ३२ लाख कित्ता सेयर जारी गर्नेछ, जसको कुल मूल्य ३२ करोड रुपैयाँ हुनेछ। आयोजना प्रभावितले ग्लोबल आइएमई बैंकको नक्साल, बुर्तिवाङ, बाग्लुङ बजार शाखा कार्यालय, प्रभु बैंकको बडिगाड–५, ग्वालीचौर शाखा, गरिमा विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुतिर्वाङ शाखा कार्यालयमा आईपीओको फाराम पाउनेछन्।












