काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आउँदो माघ ६ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक चरणको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख कित्ता आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। सोमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई ९ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागिएको हो।
आयोजना प्रभाविततर्फ बाग्लुङको बडिगाड गाउँपालिका वडा नं. १ देखि १० सम्मका सबै वडाहरू (साविक दगातुन्डाँडा, सीसाखानी, जलजला, ग्वालीचौर, भीमगिठे, रणसिंहकिटेनी र दर्लिङ गाविसका सबै वडाहरू) तथा आयोजनाको विद्युत् प्रसारण लाइनबाट प्रभावित बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं. २ (साविक बुर्तिवाङ गाविस वडा नं. २, ३, ४ र ५) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। आईपीओ छिटोमा माघ ९ गते र ढिलोमा माघ २० गते बन्द हुनेछ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ।
आयोजना प्रभावित स्थानीयले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको नक्साल, बुर्तिवाङ र बाग्लुङ बजार शाखा, प्रभु बैंकको बडिगाड–५ ग्वालीचौर शाखा, गरिमा विकास बैंक तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बुर्तिवाङ शाखा कार्यालयबाट आईपीओ आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।










