काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन तथा बाँडफाँड सम्पन्न गरेपछि अब सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ। कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणका लागि शेयर आवेदन खुला गर्ने जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावितका लागि १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० लाख कित्ता शेयर यसअघि नै जारी भइसकेको छ।
अब बाँकी रहेको ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी शेष ८२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो।
सर्वसाधारणले पुस २९ गतेदेखि माघ ४ गतेसम्म बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। सो अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १४ गतेसम्म म्याद थप गरिने कम्पनीले जनाएको छ। आवेदन गर्दा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ।
कम्पनीको आईपीओ रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘IRN BB Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड रहेका छन्।












