काठमाडौं । नेपाल धितोपत्र बोर्डले शिखर पावर डेभलपमेन्ट लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनको अनुमति दिएको छ । स्वीकृतिअनुसार कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न पाउनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३० बमोजिम विवरणपत्र प्रकाशनका लागि स्वीकृति प्रदान गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।
कम्पनीको अधिकृत तथा जारी पुँजी ९८ करोड रुपैयाँ रहेको छ । संस्थापक समुहको ६५.३५ प्रतिशत अर्थात् रु.६६ करोड र सर्वसाधारणको लागि ३२.६५ प्रतिशत अर्थात् ३२ करोड जारी हुने कम्पनीले जनाएको छ ।
वि.स.२०७२ सालमा स्थापना भई २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंको टोखा १०, महादेवटारमा रहेको छ ।
कम्पनीले बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिकास्थित ‘भिमखोला साना जलविद्युत आयोजना (४.९६ मे.वा.)’ आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना लोवर भिमखोला क्यास्केड जलविद्युत् आयोजना ( ६.०५ मे.वा.) पनि प्रबद्र्धन भइरहेको तथा भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
कम्पनीको मुख्य लगानिकर्ताका रुपमा शिक्षा, निर्माण व्यवसाय, बैंकिङ्ग लगायत विभिन्न क्षेत्रमा काम गरेका ख्याती प्राप्त व्यक्तिहरु रहेका छन्।












