काठमाडौं । नेपाल बैंकर्स संघ (एनबिए)का अध्यक्ष सन्तोष कोइरालाले बैंकका ५० हजार कर्मचारीको सम्मान र देशभरको ७६ खर्ब रुपैयाँ निक्षेपको सुरक्षा सुनिश्चित नगरी कुनै सम्झौता नहुने प्रष्ट पारेका छन्।
आर्थिक पत्रकार समाज (सेजन)द्वारा आयोजित ‘बैंकिङ क्षेत्रमा बढेका चुनौती र गर्नुपर्ने काम’ विषयक छलफल कार्यक्रममा कोइरालाले पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कर्मचारीमाथि हुने भौतिक आक्रमण, धम्की र अपमानजनक व्यवहार तुरुन्त रोक्न सरकार र प्रशासनसँग माग गरेका हुन्।
उनी भन्छन्, “विकास बैंकमा ऋण असुलीका क्रममा कर्मचारीमाथि भएको आक्रमण निन्दनीय छ। कानूनी राज्यमा ऋण दिनेदेखि उठाउनेसम्मका सबै प्रक्रिया स्पष्ट छन्। हामी कानूनी रूपमा कार्यरत छौँ, तर कर्मचारीमाथि हुने हानि अस्वीकार्य छ।”
कोइरालाले राजनीतिक स्वार्थका लागि बैंकिङ क्षेत्रलाई निशाना बनाइँदा ५० हजारभन्दा बढी कर्मचारी र उनीहरूको परिवारको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको बताए। उनले चेतावनी दिए, “यदि राज्यले सुरक्षा दिन सकेन र बैंक कर्मचारीलाई प्रतिरक्षा गर्नुपर्ने अवस्था आयो भने परिणाम सबैले सोच्नुपर्ने हुन्छ।”
बैंकिङ क्षेत्रका वर्तमान परिस्थितिबारे बोल्दै कोइरालाले बजारमा १२ खर्ब रुपैयाँ बराबरको तरलता भए पनि राजनीतिक अस्थिरता र हालका गतिविधिका कारण लगानीकर्ता आत्मविश्वासविहीन भएको बताए। उनले युट्युब, टिकटक जस्ता सामाजिक सञ्जालमा बैंक कर्मचारीविरुद्ध गलत प्रचार रोक्न सरकार र पत्रकारहरूसँग आग्रह गरे।
त्यसैगरी, बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलका संयोजक डा. रेवतबहादुर कार्कीले बैंकिङ क्षेत्रले अर्थतन्त्रमा ६६ प्रतिशत योगदान पुर्याएको भन्दै पहिले आफूबाट सुधार गर्नुपर्ने बताए।












