काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका नवजात शिशु जीवित भेटिएको घटनाप्रति अस्पताल प्रशासनले माफी मागेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा चिकित्सकीय कमजोरी भएको स्वीकार गरेका हुन्।
विज्ञप्तिमा उक्त घटनाले शिशुका परिवारजनमा परेको पीडाप्रति अस्पताल परिवारले गहिरो सहानुभूति प्रकट गरेको उल्लेख छ। साथै, शिशुको उपचारका क्रममा अस्पतालले आफ्नो क्षमताअनुसार अधिकतम प्रयास गरे पनि बिरामीका आफन्तलाई सम्भावित परिणामबारे पर्याप्त परामर्श दिन नसकिएको कमजोरी स्वीकार गरिएको छ।
घटनाको विवरणअनुसार मंसिर २५ गते भेरी अस्पतालको लेबर कक्षमा भर्ना भएकी एक गर्भवतीले मंसिर २८ गते ६१७ ग्राम तौलको नवजात शिशुलाई जन्म दिएकी थिइन्। २३ हप्तामै जन्मिएको उक्त शिशुको मंसिर २९ गते मृत्यु भएको भन्दै चिकित्सकले शव आफन्तलाई जिम्मा दिएका थिए।
तर, घर लगेपछि करिब चार घण्टापछि शिशुमा जीवित रहेको संकेत देखिएपछि परिवारजनले पुनः अस्पताल ल्याएका थिए। अस्पताल पुर्याएको केही समयपछि भने शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले मृत घोषणा गरिएको शिशु पछि जीवित पाइएको घटनालाई ‘अपवाद’को रूपमा व्याख्या गरेको छ। २८ हप्ताभन्दा कम समयमै जन्मिएको र एक किलोग्रामभन्दा कम तौल भएको शिशुमा जीवित रहने संकेत अत्यन्त ढिलोगरी देखिनु दुर्लभ हुने विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा २८ हप्ता नपुगेको र एक किलोग्रामभन्दा कम तौल भएको शिशुलाई बचाउन सक्ने सम्भावना अत्यन्त न्यून रहने दाबीसमेत गरिएको छ।













