काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा सिफारिस गरेका नामहरूमाथि पुनः आन्तरिक छलफल तीव्र पारेकी छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारमाथि मुद्दा र फरार अभियुक्तको विवाद सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार स्थगित गर्दै नयाँ मूल्यांकन सुरु गरेकी हुन्।
बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले अहिले सुनारको विषयमा मन्त्रीहरू सँग विस्तृत छलफल गरिरहेकी छन्। स्रोतले भन्यो, “सुनारको कानुनी स्थिति स्पष्ट नहुँदासम्म प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तारमा अन्तिम निर्णय नलिने तयारी गरेकी छन्।”
नेपाल प्रहरीको केन्द्रीय क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार सुनारमाथि दुई मुद्दामा अदालतले कैद सजाय तोकेर पनि उनले सजाय भुक्तान नगरेको देखिन्छ।
त्यस्तै, उनीविरुद्ध सर्वोच्च अदालतमा पनि एक मुद्दा विचाराधीन रहेको खुलासा भइसकेको छ।
यसै कारण अहिले सुनारको नाम सार्वजनिक भएपछि राजनीतिक र कानुनी वृत्तमा तीव्र आलोचना भइरहेको छ।
सामाजिक सञ्जालमा पनि “फरार अभियुक्त मन्त्री बनाउने सरकार” भन्दै व्यापक प्रतिकृया देखिएका छन्।
अन्य सिफारिस भएका मन्त्रीहरू
प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा चार जना नाम सिफारिस गरेकी थिइन्।
डा. सुधा शर्मा गौतम — स्वास्थ्य तथा जनसंख्यामन्त्री
गणपति लाल श्रेष्ठ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री
बब्लु गुप्ता — युवा तथा खेलकुदमन्त्री
खगेन्द्र सुनार — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री (विवादित)
तर, सुनारमाथि लागेको मुद्दा र फरार अभियुक्तको पृष्ठभूमिले गर्दा मन्त्रिपरिषद् विस्तारको समयसीमा अनिश्चित बनेको छ।












