सोलुखुम्बु । बिहीबार साँझ सोलुखुम्बुमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार साँझ करिब साढे ६ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी (ना १ ज ३८२७) दुर्घटनामा परेको हो। गाडी माप्य दूधकोशी गाउँपालिका–६ र ७ को सिमानामा रहेको भिरकुना भन्ने ठाउँबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये महाकुलुङ गाउँपालिका–३ छेस्कामकी १६ वर्षीया हबी राई र सोही ठाउँकी २० वर्षीया शान्ति राईको मात्रै पहिचान खुलेको छ। तेस्रो मृतक एक किशोरीको भने पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा घाइते भएकामध्ये चालक महाकुलुङ–३ का ३२ वर्षीय श्रीध्वज राईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूमा महाकुलुङ–४ की १६ वर्षीया गंगा राई, १८ वर्षीया बस्तीकला राई, १६ वर्षीया समया राई, १६ वर्षीया सजना राई र १० वर्षीय उमेश राई रहेका छन्।
घाइतेहरूको उपचार फाप्लुस्थित जिल्ला अस्पतालमा भइरहेको छ भने दुर्घटनामा सहभागी दुई जना सकुशल रहेका छन्।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












