काठमाडौं । इजरायलमा हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको मंगलबार कञ्चनपुरस्थित महाकाली नदी किनारमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । सोमबार इजरायलबाट ल्याइएका विपिनको शवसँगै उनका लुगा, कापीकिताब, डायरी र निलो गितार पनि नेपाल ल्याइएका थिए ।

महाकालीको भुजेला घाटमा अन्त्येष्टि अघि उनका व्यक्तिगत सामान नदीमा बगाइएका थिए । उनका डायरीमा संगीत र गितार सिक्ने सपना लेखिएको भेटिएको परिवारले जनाएको छ ।
इजरायली विदेश मन्त्रालयले बन्धक सूची सार्वजनिक गर्दा विपिनलाई ‘अमच्योर्ड र्यापर’का रूपमा उल्लेख गरेको थियो । त्यस्तै, अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलले पनि उनलाई संगीत सिक्दै गरेका युवा भनेर वर्णन गरेको थियो ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका विपिन सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणमा परेका थिए । सो आक्रमणमा उनका १० नेपाली सहपाठीको मृत्यु भएको थियो भने विपिन अपहरणमा परेका थिए ।

हालै इजरायल र हमासबीचको युद्धविरामपछि बन्धक खोजीका क्रममा इजरायली सेनाले विपिनको सन् २०२३ मै गोली प्रहारबाट मृत्यु भएको पुष्टि गरेको थियो । इजरायलले पठाएको फरेन्सिक रिपोर्टमा उनको टाउकोमा गोली लागेको उल्लेख गरिएको छ ।













