कञ्चनपुर । कञ्चनपुरका विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। महाकालीको भुजेलाघाटमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो।
उनको शव सोमबार इजरायलबाट काठमाडौं ल्याइएपछि सेनाको स्काइ ट्रकमार्फत धनगढी हुँदै घर पुर्याइएको थियो। राति घरमा शव ल्याइएकाले बिहान महाकाली किनारमा अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टिमा परिवार, इष्टमित्र, जनप्रतिनिधि र सुरक्षाकर्मी सहभागी थिए। दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन हमासको आक्रमणपछि बेपत्ता भएका थिए।
हालै युद्धविरामपछि इजरायली सेनाले उनको सन् २०२३ मै गोली हानी हत्या भएको पुष्टि गरेको थियो। तिहारको बेला विपिनको शव घर आइपुग्दा परिवार शोकमा डुबेको छ।












