काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेको विषयमा असन्तुष्ट देखिएका छन्।
शनिबार शीतलनिवासमा बौद्धिक समुदायका अगुवाहरूसँग भएको छलफलका क्रममा राष्ट्रपति पौडेलले ओलीको घोषणाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
पूर्व प्रधानमन्त्री ओलीले शुक्रबार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकको समापन सत्रमा आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा एमाले सहभागी नहुने घोषणा गरेका थिए।
छलफलमा सहभागी अगुवाहरूका अनुसार राष्ट्रपति पौडेल ओलीको निर्णयबाट असन्तुष्ट देखिएका थिए। उनीहरूले बताएअनुसार, ओलीबाहेकका अन्य एमाले नेताहरूले भने राष्ट्रपतिसँगको भेटमा निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राखेका थिए।
छलफलका क्रममा राष्ट्रपति पौडेलले ओलीकै सिफारिसमा आफूले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेको प्रसंग पनि उल्लेख गरेका थिए।












