काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक बिहीबार पनि ललितपुरको धोबीघाटस्थित रामबाघ महल पार्टी प्यालेसमा बस्दैछ। बैठक आज बिहान ८ बजेदेखि सुरू हुनेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि आधारित छलफल भइरहेको छ। बुधबार मात्रै ५० जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए। अधिकांश सदस्य आगामी निर्वाचनमा जानुपर्ने पक्षमा उभिएका छन् भने केही सदस्यहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुनुपर्ने सुझाव दिएका छन्।
बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको बोल्ने समय दिइएको छ। सदस्यहरूले धारणा राखिसकेपछि पदाधिकारीहरूले पनि आफ्नो विचार राख्ने कार्यसूची तय गरिएको छ।
जारी बैठकले एमालेको ११ औं महाधिवेशनको मिति औपचारिक रूपमा निर्धारण गर्नेछ। अध्यक्ष ओलीले महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरेका छन्। एमालेले यसपटक एक वर्षअघि नै महाधिवेशन गर्ने तयारी गरेको हो।
यसअघि एमालेको दशौं महाधिवेशन २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा सम्पन्न भएको थियो।












