काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट केही समयका लागि मात्र बाहिरिएको भन्दै सधैंका लागि एमाले सत्ता बाहिर रहन्छ भन्ने भ्रममा नपर्न चेतावनी दिएका छन्।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले सरकारमा रहँदा देश र जनताको हितमा काम गरेको दाबी गर्दै भने, “हामी सरकारबाट हट्यौं, कसैलाई मान्छे मन नपर्नु वा पार्टी मन नपर्नु बेग्लै कुरा हो, तर देशका लागि नेकपा एमाले आवश्यक छ।”
उनले एमालेले राम्रो काम गरेकै कारण विभिन्न शक्तिहरूको निशानामा परेको आरोप लगाउँदै भने, “एकछिन हामी सरकारबाट हट्दा सधैंका लागि हट्यो भनेर भ्रममा नपरे हुन्छ।”
ओलीले संविधान जारी भएको समयदेखि नै एमालेलाई सरकारमा आउन नदिने षड्यन्त्र चल्दै आएको आरोप पनि लगाए। उनका अनुसार, सरकारमा रहँदा पनि कतिपय समयमा आफ्नै पार्टीका नेताहरूले सरकारको विरोध गरेका थिए, जसले पार्टी एकता र लक्ष्यप्रति चुनौती सिर्जना गरेको थियो।












