काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र व्यापक नेतृत्व परिवर्तनको माग गरेकी छन्। पार्टी सचिवालयको बैठकमा उनले पुराना सबै नेताहरूले बिदा लिनुपर्ने प्रस्ताव राखेकी हुन्।
बैठकमा लिखित मन्तव्य पेश गर्दै शाक्यले हालको नेतृत्वले पार्टीलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको बताउँदै नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिइन्। एक स्रोतका अनुसार उनले भनिन्, “पुरानाले जतिले बिदा लिनुपर्ने प्रस्ताव राख्नुभएको छ। अहिलेकै नेतृत्वले पार्टी अगाडि बढ्न सक्दैन भन्ने उहाँको निष्कर्ष हो।”
शाक्यले पहिलोपटक अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिनुपर्ने स्पष्ट माग पनि गरेकी छन्। उनका अनुसार पार्टीभित्रको असन्तुष्टि र लगातारको हारका कारण ओलीले नैतिक जिम्मेवारी लिनुपर्छ।
उनीले भनिन्, “भोलिपल्ट सरकार जाँदैछ भन्ने पत्तो भएन। अनि षड्यन्त्र भनेर मात्र हुँदैन। नैतिक जिम्मेवारी लिएर तपाईँले सहज निकास दिनुस्, अरूलाई अगाडि बढाउनुपर्छ।”
शाक्यको यस्तो धारणा एमाले नेतृत्वभित्र नयाँ राजनीतिक बहसको सुरुवातको रूपमा हेरिएको छ। बैठकमा अध्यक्ष ओलीलगायत शीर्ष नेताहरू पनि उपस्थित थिए।












