काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले २१ बलमा १ चौका र ४ छक्कासहित उत्कृष्ट ब्याटिङ गरे। ओपनर कुशल भुर्तेलले २१ बलमा २१ रन बनाए। नेपालले पावरप्लेमा १ विकेट गुमाउँदै ४५ रन बनाएको थियो।
७.२ ओभरमा आसिफ आउट भएपछि नेपालले सन्दीप जोरा (५) र कुशल मल्ल (४) लाई चाँडै गुमायो। कप्तान रोहित पौडेलले १९ बलमा १८ रन जोडे।
अन्त्यमा गुल्सन झा र दीपेन्द्र सिंह ऐरीले छैटौं विकेटका लागि ४२ रनको अविजित साझेदारी गर्दै नेपाललाई जित दिलाए। ऐरी १४ र झा २८ रनमा अविजित रहे।
जापानका लागि शोमा सल्तारले २ विकेट लिए भने रियो साकुरानो थोमस, सबाओरिस रविचन्द्रन र डिक्लान सुजुकीले १–१ विकेट हात पारे। पहिलो इनिङमा जापानका कप्तान केन्डेल काडोवकी फ्लेमिङले ६० रन बनाए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। इस्मान रहमानले २५ बलमा २७ रन जोडे। फ्लेमिङ र रहमानबीच ८६ रनको साझेदारी भएको थियो।
नेपालका बलरहरूमध्ये गुल्सन झा र सन्दीप लामिछानेले समान २–२ विकेट, सोमपाल कामी र नन्दन यादवले १–१ विकेट लिए। जापानका दुई ब्याटर रन आउट भएका थिए।
यो जितसँगै नेपालले समूह ‘बी’ मा २ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गरेको छ।
जापानले पनि सुपर सिक्समा स्थान बनाइसकेको छ भने कुवेत लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
नेपालले अब समूह ‘ए’ को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) सँग आइतबार सुपर सिक्स चरणको पहिलो खेल खेल्नेछ।












