काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले ‘हामी नेपाली’ का संयोजक सुदन गुरुङले मन्त्रालयको बैठकमा पुगेर उच्च तहका सरकारी कर्मचारीलाई निर्देशन दिएको भन्दै असन्तुष्टि जनाएका छन्।
थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै संविधान, कानुन र राजकीय जिम्मेवारीलाई नचिन्ने व्यक्तिहरू विदेशी एजेन्टझैँ घुसपैठ गरेर हिंसा, आगजनी र अस्थिरता मच्चाउने गरेको आरोप लगाए।
उनले भने, “कहिले राष्ट्रपतिलाई धम्काउने, कहिले मन्त्रालयमै पुगेर मन्त्रीको उपस्थितिमा उच्च तहका कर्मचारीको हुर्मत लिने अवस्था छ। अर्थमन्त्री स्वयं व्युरोक्रेसीबाट आएका भए पनि सुदन गुरुङलाई जीहजुरीका साथ ‘सर’ भन्न बाध्य हुन्छन्, गृहमन्त्रीले उनलाई विपद् विज्ञ भनेर सम्बोधन गर्न लाज मान्दैनन्।”
थापाले प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि आक्रोश पोख्दै “अनधिकृत र गैरजिम्मेवार हप्कीदप्की गर्ने अवस्थालाई सरकारको मौनताले थप प्रोत्साहन दिएको छ” भन्दै आलोचना गरेका छन्।
उनले लोकतान्त्रिक व्यवस्थामा जिम्मेवारीबिहीन ‘आदेश–निर्देश’ स्वीकार्य नहुने स्पष्ट पार्दै सरकारलाई सचेत रहन आग्रह गरेका छन्।












