काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको राजनीतिक जटिलताको समाधान संविधानकै मार्गबाट खोजिनुपर्नेमा जोड दिएका छन्। सात दशक लामो संघर्ष र बलिदानपछि बनेको ऐतिहासिक संविधानले मुलुकलाई स्थिरता, प्रगति र समृद्धितर्फ अघि बढाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।
बडा दसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले भदौ २३ र २४ गते जे–नजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
आन्दोलनका क्रममा आपराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका सरकारी निकाय, राजनीतिक दलका कार्यालय, निजी घर–डेरा र व्यावसायिक प्रतिष्ठानमा तोडफोड, आगजनी र लुटपाट हुनु इतिहासकै अकल्पनीय र दुःखद भएको देउवाले टिप्पणी गरेका छन्।
दसैं अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएको उल्लेख गर्दै उनले यसले नेपाली समाजलाई पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको भावना अझ प्रगाढ बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।












