काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले मात्र मुलुकलाई सही बाटोमा फर्काउन सक्ने दाबी गरेका छन्।
जेनजी आन्दोलनपछि पहिलो पटक शनिबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रलाई जोगाउन र शान्ति तथा समृद्धिको बाटोमा अघि बढाउन संयमताका साथ एकताबद्ध हुनुपर्ने बताए।
उनले भने, “घर जले पनि, ठुलो क्षति भए पनि एमालेका कार्यकर्ताले हरेश खानु हुँदैन। एमालेले नै मुलुकलाई फेरि सही बाटोमा फर्काउने छ।” ओलीले आक्रोश, रिसराग र वैरभाव त्यागेर राष्ट्रिय एकता र समझदारीका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। साथै, उनले सबैलाई शान्ति, स्थिरता र समृद्धिको बाटो रोज्न आह्वान गरे।












