काठमाडौं । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आफू गम्भीर जोखिममा परेको दाबी गरेका छन् । उनका अनुसार गत भदौ २४ गते सरकारी निवास बालुवाटारबाट भाग्दा पाँच मिनेट ढिला भएको भए जीवन संकटमा पर्ने अवस्था थियो ।
भक्तपुरको गुन्डुमा डेरा गरी बसेका ओलीलाई भेट्न आएका लोकतान्त्रिक आदिवासी जनजाति महासंघको टोलीसँग कुरा गर्दै उनले आन्दोलनकारीहरूले आफ्नै निवास जलाइदिएको अनुभव सुनाए ।
महासंघका अध्यक्ष पासाङ शेर्पा नेतृत्वको टोलीसँगको भेटमा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई आन्दोलनकारीहरूले घाइते बनाउने योजना बनाएको तर आफूलाई भने मार्ने उद्देश्य रहेको बताए ।
“पाँच मिनेट मात्रै ढिला भएको भए मार्ने नै थिए । शेरबहादुरजीलाई घाइते बनाउने, मलाई चाहिँ मार्ने योजना रहेछ,” ओलीले भने । उनका अनुसार अन्तिममा सेनाले उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको थियो ।
ओलीले आन्दोलनका गतिविधिलाई ‘देशै जलाउने खालको आततायी र अपराधिक’ भन्दै कडा शब्दमा विरोध गरे । उनले भने, “यस्तो कुनै पनि हालतमा एमाले हुँदाहुँदै हुन दिँदैनौँ । यसपल्ट अलिकति कमजोरी भयो तर यस्तो देशद्रोही र आपराधिक गतिविधि सह्य हुँदैन ।”












