काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहे पनि यसको प्रभाव कमजोर छ भने स्थानीय वायूको पनि आंशिक असर देखिएको छ ।
दिउँसो देशका पहाडी भू–भागमा सामान्यतया मौसम बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा तथा अन्य प्रदेशका थोरै क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि कोशी प्रदेशसहितका पहाडी भागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । यद्यपि, थोरै ठाउँमा मध्यम वर्षा पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गएराति काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो । जाजरकोट आसपासका क्षेत्रमा मध्यम वर्षा भएको र त्यहाँको जगातीपूर तथा कोटजहारी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा करिब २९ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।












