काठमाडौं । हेम–सरिता पाठक फाउण्डेसनले जेनजी आन्दोलनको पृष्ठभूमिमा आधारित रहेर ‘अब जाग्नु पर्छ’ बोलको गीत सार्वजनिक गर्ने भएको छ ।
गीतमा गायक शिशिर योगी र गायक तथा संगितकार बीबी अनुरागीले स्वर दिएका छन् । सो गीत फाउण्डेसनका संस्थापक हेम पाठकले लेखेका हुन् । गीतमा संगित संगितकार अनुरागीले भरेका छन् ।
गीतमा भ्रष्टाचार, बेतिथी र अन्यायविरुद्ध नागरिकलाई जागृत गराउने विषयबस्तु समावेश गरिएको संस्थापक पाठकले जानकारी दिए ।
फाउण्डेसनले गीत, कविता, पत्रकारिता, शिक्षा र सचेतनामूलक कार्यक्रममार्फत सुशासनका लागि सन् २०११ देखि भ्रष्टाचारविरुद्धका विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।
फाउण्डेसनले २०४६ सालपछि सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गरेर भ्रष्टाचारबाट कमाएको सम्पत्ति जफत गरी कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको छ ।
जफत गरिएको सम्पत्ति शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा लगानी गर्नुपर्ने फाउण्डेसनको भनाइ छ । भ्रष्टाचारको अन्त्य गर्दै नेपाली जनताको आम्दानीलाई आधारमानी न्यूनतम आय भएका नागरिकलाई शिक्षा र स्वास्थ्य निःशुल्क उपलब्ध गरिनुपर्नेमा फाउण्डेसनको जोड छ ।












