काठमाडौं । सल्यान जिल्लामा पहिलो पटक नगर बस सञ्चालनमा आएको छ। शारदा नगरपालिकाले शुक्रबार श्रीनगरस्थित बसपार्कबाट नगरबस सेवा शुभारम्भ गरेको हो। मेयर प्रकाश भण्डारीले बस सेवाको उद्घाटन गरेका छन्।
वडादशैंका अवसरमा भक्तजनलाई खैरावाङ भगवती मन्दिरसम्म सहज र सस्तो यातायात सुविधा उपलब्ध गराउन श्रीनगर–खैरावाङ रुटमा नगरबस चलाइएको नगर प्रवक्ता राजेश कुमार शर्माले जानकारी दिए। दशैं अवधिभर यो सेवाको भाडादर न्यूनतम ५० रुपैयाँ तोकिएको छ।
मेयर भण्डारीका अनुसार दशैंपछि श्रीनगरदेखि सदरमुकाम खलंगासम्म पनि नगरबस सञ्चालन गरिनेछ। उनका अनुसार नगरपालिकाले आन्तरिक राजस्वबाट बस खरिद गरी दुर्गम क्षेत्रका नागरिकलाई सस्तो र सहज यातायात सुविधा दिन लक्ष्य लिएको छ।
शारदा नगरपालिकाले नियमित रुपमा बस चलाएर जनतालाई सहज सेवा दिने प्रतिवद्धता जनाएको छ।












