काठमाडौं । दशैंको माहोलसँगै देशभरका कारागार र सुधारगृहहरूमा कैदीबन्दी फरार भएको घटनाले त्रास फैलिएको छ । कारागार व्यवस्थापन विभागका तथ्यांकअनुसार, भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा २८ वटा कारागार र नौ वटा सुधारगृहबाट १४ हजार ५४९ कैदीबन्दी भागेका थिए ।
हालसम्म आठ हजार ५४ जना मात्र फर्किएका छन् भने अझै ६ हजार ४९४ कैदी फरार छन्। फर्किएका मध्ये सात हजार ७१३ जना कारागारबाट र ३४१ जना सुधारगृहबाट भागेका थिए। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, कतिपय कैदी आफैं फर्किए भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरेर ल्याइएको हो। फरारमध्ये पाँच हजार ८७२ जना कारागार र ६२२ जना सुधारगृहका कैदीबन्दी रहेको जानकारी दिइएको छ।
तर, फरार कैदीमध्येकै केही फेरि अपराधमा संलग्न हुन थालेका घटनाले आम नागरिकको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
श्रीमतीको हत्या
नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङ काभ्रेपलाञ्चोक पुगेपछि आफ्नै श्रीमतीको हत्या गरेका छन्। पनौती नगरपालिका–१२, कलाँतीमा ३१ वर्षीया मनिषा तामाङको शव घरपछाडिको करेसाबारीमा गाडिएको अवस्थामा भेटिएको हो।
वडाध्यक्ष जयराम केसीका अनुसार, मनिषा तीन दिनदेखि सम्पर्कविहीन भएपछि खोजतलासी गर्दा हत्या भएको खुलेको हो। बलात्कार मुद्दामा दोषी ठहर भई सजाय काटिरहेका सन्तबहादुर जेलबाट भागेपछि घर पुगेर श्रीमतीको हत्या गरी फरार भएका छन्।
फेरि बलात्कार प्रयास
कञ्चनपुर कारागारबाट भागेका ३५ वर्षीय दीपक सुनार फेरि बलात्कार प्रयासमा पक्राउ परेका छन्। जेन–जी आन्दोलनकै क्रममा कारागार तोडफोड हुँदा भागेका उनी बुधबार राति ५० वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।
सुनार यसअघि पनि बलात्कार मुद्दामा नौ वर्ष कैद सजाय काटिरहेका थिए। फरार भएपछि फेरि उही प्रकृतिको अपराधमा संलग्न भएपछि उनलाई पुनः कारागारमा पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले जानकारी दिए ।
नागरिक सुरक्षा र शान्ति–व्यवस्था कायम गर्ने चुनौतीसँगै कैदीबन्दी फरार भएको घटनाले प्रहरी प्रशासन र सरकारको कमजोरी उजागर गरेको छ। अझै साढे ६ हजार कैदी फरार रहँदा उनीहरू फेरि अपराधमा संलग्न हुने डर बढ्दो छ, जसले दशैंको चाडपर्वलाई त्रासमा बदलिदिएको छ।












