काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।
भेटवार्तामा देशको पछिल्लो शान्ति सुरक्षाको अवस्था, सेना र सरकारबीच समन्वय, तथा आगामी सुरक्षा चुनौतीहरूसँग जुझ्ने उपायहरूबारे चर्चा भएको बताइएको छ। प्रधानमन्त्री कार्की र प्रधानसेनापति सिग्देलबीचको यो भेट राजनीतिक र सुरक्षा सन्दर्भमा अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रधानमन्त्री कार्की भदौ २३ र २४ गते जेन—जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी हुन्। सो आन्दोलनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढाल्न महत्वपूर्ण भूमिका खेलेको थियो। जेन—जीको माग अनुसार नेपाली सेनाको पहलमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो।
प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि प्रधानसेनापति सिग्देलसँगको भेटले आगामी दिनमा सुरक्षा व्यवस्थामा सुधार र स्थायीत्व कायम गर्न सक्ने आशा व्यक्त गरिएको छ।












