काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट जल तथा ऊर्जा आयोगमा विज्ञ सदस्यका रूपमा सरुवा गरिएका हितेन्द्रदेव शाक्यको पारिश्रमिक नघट्ने भएको छ। पद पनि एक तह बढुवा भएको छ।
गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै उनको स्थानमा मनोज सिलवाललाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो।
शाक्यलाई प्राधिकरणको निर्देशक रहँदाको सुविधा नघट्ने गरी आयोगमा सरुवा गरिएको हो।
शाक्यले जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा रहँदा मासिक तलब ७३ हजार ७३० र व्यावसायिक भत्ता २ लाख २१ हजार १९० गरी जम्मा २ लाख ९४ हजार ९२० रुपैयाँ पाउने सरकारले जनाएको छ।
प्राधिकरणको कार्यकारी निर्देशक हुँदा खाईपाई आएको सुविधा नघट्ने गरी शाक्यलाई आयोगको सचिव सरहको विज्ञ सदस्यका रूपमा नियुक्ति गरिएको हो।












