काठमाडौं । शान्तिपूर्ण जेनजी आन्दोलनमा सहभागी युवामाथि गोली प्रहार गर्ने आदेश दिएको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ।
नेपाली कांग्रेसका सांसद तथा पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङमार्फत नयाँ बानेश्वरस्थित महानगरीय प्रहरी वृत्तमा उजुरी दर्ता गराएका हुन्।
शाहले दिएको उजुरीमा आन्दोलन दबाउन ओलीले प्रत्यक्ष आदेश दिएको उल्लेख छ। सो घटनामा १७ देखि ४५ वर्ष उमेरका एक दर्जनभन्दा बढी युवाको ज्यान गएको र धेरै घाइते भएको विवरण उजुरीमा समावेश गरिएको छ।
ज्यान गुमाउनेमध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारु मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, शौरभ किशोर श्रेष्ठ, सुवास बोहोरा र निरज पन्तलगायतको नाम सूचीकृत छन्।












